होटलमा बस्न परिचयपत्र अनिवार्य
- Friday, July 23, 2010, 16:21
- More News
- Add a comment
यहाँ आएका कतिपय आन्तरिक पर्यटकले होटलमा बस्दा झुठो परिचय दिने र आपराधिक गतिविधिमा संलग्न भएको पाइएपछि यस्ता गतिविधि नियन्त्रण गर्न परिचयपत्र देखाउनुपर्ने नयाँ व्यवस्था गरिएको व्यवसायीले बताए। ‘आन्तरिक पर्यटकको परिचयपत्र हेर्ने चलन नहुँदा होटलमा नक्कली नाम, ठेगाना लेखेर बस्ने र पछि आपराधिक गतिविधिमा संलग्न भएको पाइएका कारण परिचयपत्र अनिवार्य गरेका हौं,’ पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष गोविन्द पहारीले बिहीबार नागरिकसँग भने, ‘अहिलेसम्म पर्यटकले दिएकै नाम र ठेगानाका आधारमा कोठा बुकिङ गर्दै आएका थियौं। तर, अब परिचय खुल्ने प्रमाण हेरेर मात्र कोठा दिन्छौं।’व्यवसायीले अबदेखि पोखरा घुम्न आउने तयारीमा रहेका आन्तरिक पर्यटकलाई कार्यालयको परिचयपत्र, चालक अनुमतिपत्र, विद्यार्थी परिचयपत्र, राहदानी, नागरिकता वा कुनै परिचय खुल्ने प्रमाण लिएर आउन आग्रह गरेका छन्। व्यवसायीले यसअघि विदेशी पर्यटकको पासपोर्ट हेरेर र आन्तरिक पर्यटकले दिएको परिचयका आधारमा कोठा दिँदै आएका थिए। ‘अब परिचयपत्र नदेखाउनेलाई कोठा दिँदैनौं,’ पहारीले भने। पश्चिमाञ्चल होटल संघले मातहतका सबै व्यवसायीलाई परिचयपत्र हेरेरमात्र कोठा दिन निर्देशन दिएको छ। विदेशी पर्यटकका लागि यसबारे कुनै समस्या नरहेको व्यवसायीले बताए।’होटलमा सही परिचय नखुलाई बसेका आन्तरिक पर्यटक आपराधिक गतिविधिमा संलग्न भएको पाइए त्यसको जिम्मेवारी सम्बन्धित होटल व्यवसायीले लिनुपर्नेछ,’ अध्यक्ष पहारीले भने। संघमा ३ सयभन्दा बढी होटल आबद्ध छन्।केही दिनअघि हनिमुन मनाउन पोखरा आई यहाँको एक होटलमा रात बिताएका काठमाडौंका एक युवाले आफ्नै श्रीमतीको हत्या गरी फरार भएपछि व्यवसायी आन्तरिक पर्यटकतर्फ बढी सतर्क देखिएका हुन्। श्रीमती हत्या गरेका ती युवाले होटलको ‘इन्ट्री बुक’ मा आफ्नो नाम र ठेगाना झुठो लेखेका थिए।कतिपय आन्तरिक पर्यटक झुठो परिचय दिएर यौन व्यवसायमा संलग्न भएको समेत पाइएको होटल व्यवसायीले बताए। ‘परिचय नखुल्दा अपराध गरेका व्यक्ति पक्राउ गर्न समस्या पर्ने भएपछि नयाँ नियम बनाएका हौं,’ पहारीले भने, ‘नक्कली परिचयले झनै अप्ठेरो पार्ने रहेछ।’प्रहरीले व्यवसायीको यो कदमको स्वागत गरेको छ। व्यवसायीले सहयोग गरे होटल व्यवसायतर्फ हुने गरेका आपराधिक गतिविधि नियन्त्रण गर्न सजिलो हुने कास्कीका एसपी पुष्कर कार्कीले बताए।’नक्कली परिचयबाट अपराधी पहिचान गर्न नसक्दा आपराधिक गतिविधि नियन्त्रण गर्न अप्ठेरो परेको थियो,’ उनले भने, ‘व्यवसायीले कडाइ गर्ने हो भने पर्यटन क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न अझ सजिलो हुन्छ।’
About the Author
Write a Comment
Gravatars are small images that can show your personality. You can get your gravatar for free today!